पर्सा , मङ्सिर २ –
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको राजस्थानस्थित श्रीगंगानगरका ३५ वर्षीय रोहित पथरिया रहेका छन् । उनी काठमाडौंको ठमेलमा बस्दै आएका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलका खेलमा अनलाइन सट्टेबाजी भइरहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।
प्रहरीले उनको साथबाट दुई थान मोबाइल बरामद गरेको छ । मोबाइल जाँच गर्दा विभिन्न खेलमा अनलाइनमार्फत पटक–पटक सट्टेबाजी गरेको खुलेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार उनले सट्टेबाजीमार्फत ८ लाख ७५ हजार ४० रुपैयाँ बराबरको कारोबार गरेको पाइएको छ ।
उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अन्तर्गत जुवा तथा सट्टेबाजीसम्बन्धी कसुरमा थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।







